विश्व
वातावरण दिवस
आज जुन महिनाको ५, तारिख
अर्थात् विश्व वातावरण दिवस । विश्वव्यापी
मनाइने दिवसका रूपमा यो दिवसको यसपालिको
नारा भने ''Beat Plastic Pollution'' अर्थात् प्लास्टिक प्रदूषण विरुद्ध लागौँ भन्ने अर्थ लाग्दछ । विश्वभरिमा हरेक वर्ष ४०० बिलियन
टन प्लास्टिकहरू उत्पादन हुन्छन् जस मध्ये ५० प्रतिशत प्लास्टिक त केवल एक पटक
मात्र प्रयोग गर्न बनाइएको हुन्छ । यस अवस्थामा प्लास्टिक प्रदूषणले विश्वलाई
आक्रान्त गरिरहेको यस अवस्थामा विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषण विरुद्ध
एकजुट हुन आग्रह गरिएको छ । वातावरण दिवसको पृष्ठभूमि १६ जुन, १९७२ मा संयुक्त राष्ट्रसङ्घले विश्व वातावरण सम्मेलनको आयोजना गरेको
थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक
जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बन्यो । त्यसैअनुरूप यो दिवसलाई
संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३
मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा
अङ्गीकार गरिएको हो । नेपालमा वातावरण संरक्षणसम्बन्धी व्यवस्था
जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ वातावरण
कायम गर्नका लागि फोहोर मैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न
वाञ्छनीय भएकोले नेपालको अन्तरिम संविधान ०६३ सालको धारा ८३ बमोजिम संविधानसभाले
फोहोर मैला व्यवस्थापन ऐन ०६८ पारित गरेको छ, भने ०७२ को संविधानमा मौलिक हकको रूपमा
वातावरणसम्बन्धी हकको व्यवस्था गरेको छ । नेपालको संविधान ०७२ को धारा ३० मा प्रत्येक
नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण
वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ। तर, अहिलेको समयमा यहाँको
वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा
समेत गम्भीर असर परेको छ। यस्तो प्रदूषण कम गर्न आम सरोकारवालाहरू एकजुट एवं जागरूक हुन आवश्यक छ। वस्तुतः प्रत्येक व्यक्तिको स्वच्छ
वातावरणमा बाँच्न पाउने हकलाई सरकारले हालसम्म
पनि कडाइका साथ कार्यान्वयन गर्न सकेको अवस्था छैन । वास्तवमा वातावरणलाई स्वच्छ
राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्व सावधानी, सार्वजनिक न्यायलगायतका विषयहरूमा ध्यान दिन आवश्यक छ। यो बाहेक सरकारले
वातावरण संरक्षणका लागि विद्यालयस्तरमा पाठ्यपुस्तक, सञ्चार माध्यमहरूमा चेतनामूलक सामग्रीहरू
प्रचारप्रसार गर्न उत्तिकै जरुरी देखिएको छ। नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदै छ । मुख्य कुरा चाहिँ
भावी सन्ततिलाई प्रकृतिप्रेम सिकाउनु नै हो । आगामी पुस्तालाई वातावरण
र प्रकृतिको माया सिकाऔँ । काठ हैन रुखलाई माया गर्न सिकाऔँ । रुख रोप्न अनि
पानीका श्रोतलाई माया गर्न सिकाऔँ । कागज र कम्प्युटर हैन वास्तविकता
मै जनावर र जङ्गल देख्ने अवस्था रहोस् । मानिस लगायत अन्य जनावर अनि उनीहरूसँगको
सहअस्तित्व सबैलाई ज्ञात होस्। घडेरी र खेत दुवै महत्त्वपूर्ण छन् । जीवन र प्रकृतिबिचको सम्बन्ध सबैले बुझौँ ।
विश्व वातावरण दिवसको
शुभकामना !
स्रोत : हाम्रो पात्रो
